एमालेले टुङ्गायो ४ पालिका गठबन्धनका लागि तीन पालिका जटिल


वैशाख ५, दैलेख
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा दैलेखमा पाँच दलिए गठबन्धन र नेकपा एमालेबिच उम्मेदवार टुङ्गाउन सकस देखिएको छ । नेकपा एमाले दैलेखले शुक्रवारसम्म ११ वटा स्थानीय तहमध्ये नौमूले गाउँपालिका र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा प्रमुखको टुङ्गो लगाएको छ । दुल्लू नगरपालिका र आठविस नगरपालिकामा निर्वाचन बाटै उम्मेदवार टुङ्गाएको छ । निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका उम्मेदवार र त्यसपछिको उम्मेदवारको नाम पालिकाले सिफारिस गरेको छ । नेकपा एमालेबाट नौमूले गाउँपालिका अध्यक्ष शशिराम बिक., उपाध्यक्ष गीता चन्द, चामुण्डाबिन्द्रासैनी नगरपालिकामा सूर्यबहादुर शाहीलाई सर्वसम्म उम्मेदवार बनाएको छ । दुल्लू नगरपालिकामा सबैभन्दा धेरै मत प्राप्त गरेका रुद्र शाही र आठवीस नगरपालिकामा सबैभन्दा बढी मत प्राप्त गरेका तर्कबहादुर बडूवालको नाम निष्कर्षमा पुगिसकेको एमाले दैलेखका पार्टी कार्यालय सचिव यामनारायण उपाध्यायले जानकारी दिएका छन् । कतिपय स्थानहरूमा उपप्रमुखको टुङ्गो लागिसकेको छ । नारायण नगर पालिकामा उपमेयरका लागि तप्ता कुमारी थापा र डुङ्गेश्वर गाउँपालिकामा उपाध्यक्षका लागि एमाले जिल्ला कमिटी दैलेखका उपसचिव कलावति न्यौपानेलाई सर्वसम्मत चयन गरेको उपाध्यायले बताए ।
नेकपा एमाले दैलेखले पनि अन्य पालिकाहरूमा प्रमुखको टुङ्गो लगाउन निकै सकस देखिएको छ । दैलेखको नारायण नगरपालिकामा लोमन शर्मा र प्रेम थापा मध्ये एकको नाम टुङ्गाउन सकस देखिएको छ भने अन्य पालिकामा पनि उम्मेदवारका आकांक्षीहरू धेरै भएपछि उम्मेदवारको टुङ्गो लाग्न नसकेको हो । एमालेले आठविसमा उपमेयरका लागि कल्पना थापा र नाम सरा कार्कीको नाम पठाएको छ । महावु गाउँपालिकाको अध्यक्षका लागि मीनबहादुर बुढा र हरिप्रसाद उपाध्यायको नाम सिफारिस भएको जनाइएको छ । महाबुबाट उपाध्यक्षका लागि कौशिला शाही, दुर्गा सिंह र लक्ष्मी कार्कीको नाम जिल्लामा सिफारिस भएको छ ।
गठबन्धनमा
तीन पालिका समस्या
दैलेखमा चार दलको गठबन्धन रहेको छ । चैत २४ गते दैलेखमा चार दलका प्रमुखहरूले स्थानीय निर्वाचनमा मिलेर जाने संयुक्त अपिल जारी गरे पनि कुन स्थानमा कसलाई जिम्मा दिने भन्ने विषय टुङ्गिएको छैन ।
विशेष गरेर दैलेखका तीन वटा पालिकामा गठबन्धनको नेतृत्व प्रदान गर्न सकस परेको नेताहरूले जानकारी दिएका छन् । दैलेखको नौमूले गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गठबन्धनमा पाउनुपर्ने अडान पुरानै हो अहिले पनि माओवादी केन्द्र त्यही अडानमा छ । दैलेखको महावु गाउँपालिकामा नेकपा एस पार्टीले प्रमुख पाउनुपर्ने अडान कायमै राखेको छ । मुख्य केन्द्रबिन्दु मानिएको दैलेखको नारायण नगरपालिकामा पनि गठबन्धनका उम्मेदवार छान्न समस्या परेको छ । समाजवादीले आफूले पाउनुपर्ने भनेको छ भने नेपाली काँग्रेसले कुनै हालतमा नछोड्ने अडान कायमै राखेको छ । त्यस्तै नौमूले गाउँपालिकामा यसअघि नेपाली काँग्रेसले अध्यक्ष, उपाध्यक्ष सहित बहुमत सदस्य विजयी भएका कारण नौमूले छोड्न नसकिने र गठबन्धन गर्न नहुने भन्दै नौमूले काँग्रेस सभापति र निर्वाचित जनप्रतिनिधिहरूले लिखित जानकारी नेपाली काँग्रेस पार्टीमा गराएका छन् । महावुमा पनि नेपाली काँग्रेसले छोड्न नहुने भन्दै काँग्रेस कार्यकर्ताहरूको असन्तुष्टि तीव्र बनेको छ ।
१४ बुँदे आचार संहिता पारित गरियो, छलफल निरन्तर भएको छ तर माओवादी र समाजवादीका नेताहरूले मागेको स्थानमा कुनै पनि फेरबदल गर्न नहुने अडान कायम राखेपछि दैलेखमा गठबन्धन समस्यामा पर्न सक्ने अवस्थामा पुगेको नेपाली काँग्रेसका नेताले जानकारी दिएका छन् ।
नेपाली काँग्रेस दैलेखका पार्टी सभापति मणिराम रेग्मीले माओवादी केन्द्र र समाजवादीले भने अनुसारको सिट दिन सक्ने अवस्था छैन, काँग्रेस कार्यकर्ताहरूको असन्तुष्टि बढेको छ । गठबन्धनका नेताहरूबिच छलफल जारी छ । पालिका प्रमुख र उपप्रमुखको बाँडफाँडमा जटिल समस्या देखिएको छ । ८ गते जिल्ला पार्टीको संसदीय दलको बैठक आव्हान गरिएको र सोही बैठकले गठबन्धन नगर्ने विषय उठान गरेको खण्डमा नेपाली काँग्रेस दैलेखले एक्लै उम्मेदवारी दिन सक्ने अवस्था आउने मणिराम रेग्मीले जानकारी दिएका छन् ।
नेकपा माओवादी केन्द्रका दैलेख संयोजक प्रेम कटुवालले केन्द्रमा भएको सहमति अनुसारको काम भए दैलेखमा गठबन्धन सहज हुने बताएका छन् । कतिपय जटिल विषयहरूमा छलफल भएको छ । केही मापदण्डहरू पनि निर्माण भएको छ । छलफल निरन्तर चलिरहेका कारण १० गते भित्र गठबन्धनले उम्मेदवारी टुङ्गोमा पु¥याउने कटुवालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार